एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै

काठमाडौं, भदौ १३ ।प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ ।

प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप सुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ। प्रत्येक स्थानीय तहमा एकरएक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन आह्वान गरेको हो।

यसअघि १८ जना नियुक्त भइसकेको अवस्थामा थप १०१ स्वास्थ्य परिचारिका नर्सका लागि मन्त्रालयले विज्ञापन आह्वान गरेको बताइएको छ। एक स्थानीय तह एक मात्र नभएर आगामी दिनमा मन्त्रालयले प्रत्येक सामुदायिक विद्यालयमा एक नर्स नियुक्त गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन्।

साथै विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका गोपाल बजगाइले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्