बिहेको प्रलोभनमा नेपाली युवतीको चीनमा तस्करी, १० जना पक्राउ

काठमाडौं, भदौ १३ । चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै तस्करी हुने गरेको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले चीन लैजान लागिएका दुई नेपाली महिला पक्राउ गरेपछि रहस्य बाहिरिएको हो ।

व्युरोका एसएसपी ईश्वरबाबु कार्कीका अनुसार दुई दिनअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग विवाह गरेर चीन जाँदै गरेका दुई नेपाली महिलाको उद्धार गरिएको थियो । यसैबिच नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।

त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् ।

चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको देखिएको कार्की बताउँछन् ।

उनका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

प्रहरीका अनुसार यसअघि पहिलो पटक ०७१ सालमा नेपाली युवतीलाई यही शैलीबाट विवाह गरेर चीन र दक्षिण कोरिया पठाउने समूहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समातेको थियो ।

यो प्रकृतिको मानव तस्करीलाई ‘ब्राइड बाइङ’ भनिने ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्