आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै

काठमाडौं, १३ भदौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीको दिनलाई बाबुको मुख हेर्ने पर्व रुपमा आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

पितालाई देवता समान मान भन्ने हाम्रो धार्मिक मान्यताका अनुसार आज छोराछोरीले पितालाई विशेष सम्मान गर्दै मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै नेपालबाट भारतका बिभिन धार्मिक स्थल लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त पाइन्छ भन्ने धार्मिक मान्यता छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । त्यस्तै कुशलाई भगवान विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ भन्ने मान्यता छ । भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

प्रतिक्रिया दिनुहोस्