प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको हो : मन्त्री बास्कोटा

काठमाडौं, भदौ १२ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको बताएका छन् ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको उनले स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको बताए ।

उनले हँुदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टी जनाए ।

त्यो कानूनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ, एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौ ।’ उनले भने ।

प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावलि किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट पनि बस्न सक्ने बताए । विदेशमा जहाजबाट नै मन्त्रिपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे ।

यसैबिच मन्त्रिपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दे आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको स्पष्ट पारेका हुन्

प्रतिक्रिया दिनुहोस्