युवा पर्यटन व्यवसायी थापालाई टानको अध्यक्ष बनाउने सर्वसम्मत निर्णय
काठमाडौं, ११ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को आसन्न ४१औं साधारणसभा तथा निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले कुमार थापा (अन्जन)लाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
पार्टीको विभिन्न चरणमा भएको छलफलपछि बुधबार थापालाई अध्यक्ष पदका लागि उमेद्वार बनाउने सर्वसम्मत रुपमा निर्णय गरेको हो ।
नेकपानिकट तीन वटै संगठनको प्रतिनिधित्व रहेको १५ सदस्यीय कार्यदलले थापाको नाम अनुमोदन गरेको युवा पर्यटन व्यवसायी रामचन्द्र धमलाले जागरण न्युजलाई जानकारी दिए
।
नेकपाका उद्योग तथा व्यवसायी राष्ट्रिय महासंघका ईन्चार्ज मुकुन्द न्यौपानेको रोहबरमा नेकपाको हालै गठित उद्योग तथा विशेष जिल्ला कमिटी अध्यक्ष कमल सापकोटा, नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनका अध्यक्ष मदन आचार्य, पर्यटन व्यावसायी संगठन नेपालका अध्यक्ष सिताराम सापकोटा र नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहालसहित बसेको कार्यदल बैठकले युवा पर्यटन व्यवसायी थापालाई सर्वसम्मत अध्यक्ष पदको लागि अगाडि सार्ने निर्णय गरेको हो ।
थापालाई अध्यक्ष बनाउने निर्णय भएसँगै टानको आसन्न निर्वाचनको नेतृत्वको लागि भएका टिकाटिप्पणी र आशंकालाई समेत हटाएको छ । अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरुका लागि पनि छलफल भईरहेको र छिट्टै त्यसको पनि टुंगो लगाइने स्रोतले जनाएको छ ।
टानका पूर्व कोषाध्यक्षसमेत रहनुभएका पर्यटन क्षेत्रका हस्ति तथा सफल यूवा पर्यटन व्यवसायी थापा असाही टे«क एण्ड एक्सपिडिसनका सञ्चालक हुनुहुन्छ । होटल उडल्याण्ड, हिमालयन योगा होम, लगायत दर्जन भन्दाबढि कम्पनीका सञ्चालक रहनु भएका थापा सिंगो पयर्टन व्यवसायीकै सम्भावना बोकेका व्यक्तित्व हुनुहुन्छ । उहाँ विगतका निर्वाचनहरुमा पनि अध्यक्ष सहित विभिन्न पदका दाबेदार हुनुहुन्थ्यो ।
टानको निर्वाचन यहि भाद्र २० गते होटल सोल्टिमा हुँदैछ । यसले नयाँ नेतृत्वको चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्