आजदेखि नेपाल–जापान सिधा हवाई उडान, जनवरीबाट टोकियोमा पनि

काठमाडौं , भदौ ११ । नेपाल एयरलाइन्सले पहिलो पटक जापानका लागि सिधा उडान थाल्दैछ ।

त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ ।

निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बुधबार बेलुकासम्म तय हुनेछ ।

साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ । टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् ।

पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए ।

जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सकै लागि भने ओशाका पुरानै गन्तब्य हो । तर यसअघि सिधा उडान भएको थिएन ।

अब काठमाडौंबाट सिधा ओशाका उडान हुनेछ र नेपाल एयरलाइन्सले सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । निगमका अनुसार सातामा तीन उडान गर्न कुल २५ जना पाइलट खटिनेछन्, त्यसमध्ये १५ पाइलट विदेशी हुन् ।

यसैबिच आगामी जनवरीसम्म नारिता विमानस्थलमा पनि उडान भर्न अनुमति प्राप्त भइसक्ने निगमको भनाइ छ ।

दशैंको मुख पारेर यस विमानस्थलबाट दुई चार्टर्ड उडानको अनुमति भने निगमले पाएको छ । दशैंमा राम्रो अकुपेन्सीमा जापान उडान गर्ने निगमले बताएको छ ।

२७४ सिट क्षमताको वाइडबडी जहाजमा ७० प्रतिशत सिट भरियो भने उक्त उडान नाफामा जाने निगमको भनाइ छ । जापान उडान शुरु भएको केही समय भित्रै ८०–८५ प्रतिशत अकुपेन्सीमा यात्रु पाउने अनुमान निगमले गरेको छ ।

जापानमा नेपाली विद्यार्थी, कामदार र वर्षेनी करीव ३० हजार हाराहारीमा आउने जापानी पर्यटक नेपाल वायुसेवा निगमका मुख्य पाहुना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्