अत्यधिक चिसोका कारण २६ जनाको मृत्यु, बाक्लो हुस्सुका कारण तराइको जनजीवन प्रभावित

काठमाडौं । पछिल्लो समय बढ्दै गएको चिसोका कारण मुलुकका विभिन्न ठाउँमा २६ जना भन्दा बढीको ज्यान गएको छ । जाजरकोटमा ९, हुम्लामा ६, सिरहा र सप्तरीमा ९ र धादिङमा १ जनाको ज्यान गएको हो । अत्यधिक चिसोका कारण फैलिएको रुघाखोकी, भाइरल ज्वरो र कतिपय ठाउँमा कठ्याङरिएर समेत मृत्यु भएको हो ।

लगातारको शीतलहर तथा बाक्लो हुस्सुका कारण तराइको जनजीवन अझ प्रभावित बनेको छ । विशेषगरी विपन्न बासिन्दाको दैनिकी कष्टकर बन्दै गएको छ ।

यस्तै उच्च हिमाली जिल्लामा हिमपातका कारण त्यहाँका बासिन्दाको जनजीवन पनि कष्टकर बनिरहेको छ । जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

ज्वरो र रुघाखोकीले जुनीचाँदेका तीन सय बढी गाँउलेहरु बिरामी परेका स्वाथ्य चौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । त्यस्तै हुम्लामा पनि चिसोकै कारण ६ जनाको ज्यान गइसकेको छ । भने एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा, सप्तरी र रौतहटमा मा गरी ९ जनाको मृत्यु भएको छ ।

यता, अत्यधिक जाडोका कारण कठ्यांग्रिएर धादिङमा पनि एक जनाको मृत्यु भएको छ ।

यसैबिच, चिसो बढ्दै गएपछि त्यससँग सम्बन्धित बिरामीको संख्या समेत बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
जाडोयाममा विशेषगरी, हृदयघात र मष्तिस्कघात, रुघाखोकी निमोनिया, छाला तथा दमका रोगीको संख्या बढेको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञका अनुसार जाडोयाममा शरीरको तापक्रम ३४–३५ डिग्रीभन्दा कम भए हातखुट्टा चिसो हुनुका साथै श्वासप्रश्वासमा समस्या हुन्छ । जसकाकारण मुटुको चालमा वृद्धि हुनुका साथै रक्तचाप कम हुने र मृत्युसम्म हुनसक्ने चिकित्सक बताउँछन् ।
यता, मौसम पुर्वाअनुमान महाशाखाले अझै चिसो बढ्न सक्ने भएकाले समयमा नै सचेत रहन आग्रह गरेको छ ।

मौसमविद् शान्ती कँडेलले अबको दुई सातासम्म चिसो बढ्ने जानकारी दिनुभयो । उहाँले उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने र तराईका क्षेत्रमा शितलहरको मात्रा अझै बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्