रवि लामिछानेसहित तीनै जनाको बैंक खाता माग्दै प्रहरीद्वारा राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं, भदौ १० । जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
फौजदारी अपराध अनुसन्धान सिलसिलामा यो सामान्य प्रक्रियाभित्रै पर्ने भएकाले उनीहरूको बैंक खाता विवरण मागिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमै बैंक खाता विवरण मागिएको हो।
अभियोग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।
लामिछानेलाई चितवन जिल्ला अदालतले सोमबार पाँच लाख रुपैयाँ धरौटी मागेको छ भने कँडेललाई तीन लाख धरौटी माग गरेको छ । कार्की भने साधारण तारेखमा छुटेकी छिन्।
प्रतिक्रिया दिनुहोस्