उद्योग व्यवसायीलाई अर्थमन्त्रीको चेतावनी -सरकारलाई झुक्याएर कर छल्ने प्रसाय नगर्नुस्
काठमाडौं, भदौ १० । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९ को उद्घाटन गर्दे मन्त्री खतिवडाले यस्तो चेतावनी दिएका हुन् ।
विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको उनले बताए ।
विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न समेत आग्रह गरे ।
उनले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताए । उनले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताए ।
व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उनले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताए ।
मन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउदै भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको बताए ।
नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरे ।
मंगलबार सुरु भएको नाडा अटो शो भदौ १६ गते सम्म चल्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्