प्रधानमन्त्रीको सचिवालयको भन्यो – टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सुरक्षित छ

काठमाण्डौं, भदौ १० । टेलि–प्रिजेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठक सूचना चुहावटका हिसाबले कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयको सचिवालयले प्रष्ट पारेको छ ।

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टेलि–प्रिजेन्समार्फत मन्त्रिपरिषद बैठक सञ्चालन गरेका थिए ।

टेलि–प्रिजेन्समार्फत आयोजना गरिएको मन्त्रिपरिषद् बैठकको बारेमा सूचना चुहावटको जोखिमको प्रश्न उठेपछि प्रधानमन्त्री कार्यालयको सचिवालयले त्यस्तो कुनै जोखिम नरहेको प्रष्ट पारेको हो ।

टेलि–प्रिजेन्समार्फत बैठक गर्दा कसैले चाहेमा त्यहाँको निर्णय बीचमै चुहिन र दुरुपयोग हुन सक्ने सम्भावना रहेको भन्दै साइबर सुरक्षाका बारेमा प्रश्न उठाइएको थियो ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलिले प्रधानमन्त्रीले प्रयोग गरेको टेलि–प्रिजेन्समार्फत प्रविधि पूर्णरूपमा सुरक्षित रहेको दाबी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा यो बारेमा स्पष्ट पार्दै अलिले मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिजेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘टेली प्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ, यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेका छौं ।’ उहाँले टेलि–प्रिजेन्समार्फत गराईने बैठकमा कसरी प्रविधि कनेक्ट गराइएको हुन्छ भनी जानकारी पनि दिनुभएको छ ।

‘साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौँ सामान्य सुरक्षा कवचमा बसेर मन्त्रिपरिषद् जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आँट गर्न सक्दैन’, अलिले भन्नुभयो, ‘यसलाई सामान्य स्काइप कल, युट्यूब लाइभ जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्