नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
पार्टी एकताको १५ महिनापछि पहिलोपटक पुष्पकमल दाहालको अध्यक्षतामा आज (सोमबार) सचिवालयको बैंकठ बस्न लागेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मावली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णयलगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए । सोहीअनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरूको कार्य्विभाजन टुंगो अझै लागेको छैन ।
सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँटलगायतका एकताका काम सकिएको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको कसरी टुंगो लगाउने भन्ने विषयमै केन्द्रित भई अध्यक्ष दाहाल पछिल्लो समय झन् सक्रिय भएका छन् ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउँदै पार्टीले देशैभर जागरण अभियान गर्ने तयारी पार्टीले गरेको छ । एकताको धेरै काम टुंगो लागिसकेको बताउँदै उनले केही बाँकी काम समेतलाई सकेर छिट्टै नै जागरण अभियानको घोषणा गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्