अब विकृति विरुद्धको लडाइँ सुरु भयो, कर्मचारी सबै घुस्याहा नै हुन् ….. : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाण्डौ, भदौ ७ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशमा गलतै गलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उहाँले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय बुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए ।

मैतीदेवीमा होप फाउण्डेसनद्वारा शनिबार आयोजित वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् भन्ने सोचले सबैलाई समेटेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोसिस भैरहेको छ ।’

समाजमा भएका खराबीविरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको बताउँदै मन्त्री ज्ञवालीले प्रश्न गर्नुभयो, ‘भूकम्प, नाकाबन्दी, चुनावलगायत कयौँ अप्ठ्यारोलाई पार गर्दै नेपालले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?’ बेल्जियममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उहाँले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए ।

युगौँदेखि थोपरिएका समस्या रातारात समाधान नहुने प्रस्ट पार्दै देशमा परिवर्तनका सकारात्मक सङ्केत देखिन थालेको उनकोे जीकिर थियो । समाजमा भ्रष्टाचार भए पनि पहिले जस्तो नभएको उनको दावी छ ।

‘कर्मचारी आएर लौन एक दिन भन्सार जान पाएको छैन, मालपोत जान पाएको होइन भनेर, नेताहरुलाई सधैँभर तनाव हुन्थ्यो तर आज भन्सार र मालपोतमा मलाई पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ । यसको अर्थ त त्यहाँका प्वाल बन्द हुन थालेछ, यो त सत्य हो नि,’ मन्त्री ज्ञवालीले भने ।

ठाउँमै निशाना लागेकाले अख्तियारमै बसेका मान्छेले मुख लुकाउँदै राजीनामा दिएर हिँड्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी गराउँदै उनले विकृति विरुद्धको लडाइँ सुरु भैसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्