रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा जुलूस, यता कलाकारको छुटै पत्रकार सम्मेलन, भने- ‘निष्पक्ष छानबिन हुनुपर्छ’

काठमाडौँ , भदौ ७ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको माइतीघरमा ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत रिहाइको माग गरेका छन् ।

माइतीघरमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गरिरहेका छन् । माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन् ।

उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ । शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

सोही भिडियोका आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेससहित तीनैजना पक्राउ परेका हुन् । तर रवि समर्थकहरु भने यो घटनामा उनको कुनै दोष नरहेको दाबीसहित फसाउन नहुने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

यसैबिच यता चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरे ।


अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने, ‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ ।

चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने बताए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए ।

उप्रेतीले भने, ‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।

उनले अघि थपे, ‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् । कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’

कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वास दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्