कडा सुरक्षाकाबीच टीकापुरमा सुरु भयो थारुहरुको राष्ट्रिय सम्मेलन , ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, भदौ ७ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलन सुरु भएको छ । टीकापुर स्थित सिटी हलमा सुरु भएको सम्मेलनका लागि टीकापुर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी उपरीक्षक र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले भने–‘नेपाल प्रहरीको नेतृत्व मैले गरेको छु र सशस्त्र प्रहरीको पनि प्रहरी उपरीक्षकको कमाण्डमा सुरक्षा टोली खटिएको छ सुरक्षा व्यवस्था कडा पारेका छौँ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी स्वयं टीकापुरमै रहेका छन् । एसपी गिरीले भने–‘सुरक्षका लागि सबै उपाय अबलम्बन गरेका छौं, प्रबिधी देखि संख्यात्मक रुपमा सबै तयारी गरेका छौं ।’

२०७२ साल भदौ ७ गते अर्थात आजकै दिन नेपाल प्रहरीका एसएसपी र एकजना नाबालक सहित ८ जनाको ज्यान जाने गरी टिकापुरमा भएको घटनाको ४ वर्षपछि थरुहट थरुवान संघर्ष समितिले राष्ट्रिय सम्मेलन गर्न थालेको छ ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, किशोर नेपाल, विश्लेषक खगेन्द्र संग्रौला लगायतका वक्ताहरुको सहभागिता रहेको छ । २५ जिल्लाबाट करिव ८ हजार सहभागि उपस्थित गराउने लक्ष्य सहित सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता अगाडी देखि नै टिकापुर तथा आसपासका क्षेत्रमा सुरक्षामा कडाई गर्दै आइरहेको थियो । आज लम्की बजार देखि नै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । ठाउँठाउँमा चेकजाँचका साथै सादा पोशाकमा खटिएका प्रहरीको संख्या पनि उच्च छ ।

टीकापुर क्षेत्रमा कुनै पनि उच्छृङ्खल क्रियाकलाप हुन नदिने आवश्यकता अनुसार सुरक्षाको सम्पूर्ण तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । थारुहट थरुवान संघर्ष समितिका पदाधिकारीले टीकापुरमा सम्मेलन गर्नुको उद्देश्य सामाजिक सद्भाव विगार्नु नभई सद्भावलाई कायम राख्ने भएको बताउँदै आएका छन् ।

टीकापुरमै राष्ट्रिय सम्मेलन गर्नु पर्छ भनेर बलियो लबिङ गरेको थारु नेता लक्ष्मण थारुले बिग्रेको सद्भावलाई पुरानै अवस्थामा पु¥याउन सम्मेलनको तयारी गरेको बताए । ‘टिकापुर घटना पछि बिग्रीएको सामाजिक सद्भाव कायम गर्न टीकापुरमै राष्ट्रिय सम्मेलन आयोजना गरेका हौं’ थारुले भने–‘न्याय र अधिकारका लागि सबैभन्दा पहिलो कुरा शान्ति र सदभाव हो, त्यही कायम गर्न यो सम्मेलन गर्दैछौं ।’

सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते अर्थात आज उद्घाटन कार्यक्रम भइरहेको छ । भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्