गौरापर्वः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना, यस्तो छ सन्देश

काठमाडौँ , भदौ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएकी छन् ।

गौरापर्वको शुभकामना सन्देश दिँदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएकी छन्।

उनले सन्देशमा भनेकी छन्, “विशिष्ट सांस्कृतिक महत्व बोकेको गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सबैमा उत्साह एवं उमङ्ग जागृत गर्न सहयोग पु¥याउने विश्वास लिएको छु ।”

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा विशेष हर्षोल्लासका साथ मनाइने यस पर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने बताएका छन् ।

उनले सन्देशमा धार्मिक र सांस्कृतिक महत्वका साथ गौरा पर्व मनाउने स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुस्वाथ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरू निधि रहेको बताएका छन् ।

“हाम्रो देशको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई हामीले सधैँ एकताबद्ध भएर परास्त गर्दै आएका छौँ”, उनको सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराईका नेपालीहरूबीचको आपसी एकता झनझन प्रगाढ हुँदै गएको छ ।”

हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण रहेको उल्लेख गर्दै उनले सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौँ पर्व र सांस्कृतिक अवसरमध्येको गौरा पर्वले समस्त नेपाली दिदी बहिनी दाजुभाइबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्