राष्ट्रियसभा बैठक : सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै सांसदले जनाए आपत्ति

काठमाडौं, भदौ ५ । सरकारले मनपरी ढंगले कर्मचारीको सरुवा गरेको भन्दै राष्ट्रियसभाका सांसदले आपत्ति जनाएका छन् ।

सांसदहरुले कार्यसम्पादन मूल्यांकनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।


राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरिन् ।

सांसद राधेश्याम अधिकारीले करिब एक महिनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गरे ।

उनले भने–‘एक महिना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नमा आएको छ । यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महिनामै सकेका हुन् वा एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् वा सम्बन्धित मन्त्रीको रोजाइमा ती सचिवहरु परेनन् वा कार्यसम्पादन सम्झौता आफैंमा मजाक थियो ।’

स्थायी सरकारकारुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थीर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

सांसद डा. विमला पौडेलले पछिलो समयमा राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठक स्वागतयोग्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्