उर्जामन्त्री पुन र जापानी राजदूतबिच भेटवार्ता, नलसिंगाड आयोजनाबारे छलफल

काठमाडौं , भदौ ४ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा पनि छलफल भएको जनाएको छ ।

उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोगप्रति धन्यवाद समेत व्यक्त गरे ।


मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह समेत गरेका छन् ।


भेटमा जापानी राजदूतले नलसिंगाड परियोजना जाइकाले पिपिपी मोडलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफूले पहल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्