उपनिर्वाचनको तयारी सुरू , निर्वाचन आयोगद्वारा सरकारसँग ४० करोड माग

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको जनाएको छ ।

एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार उपनिर्वाचनका लागि सरकारसँग खर्च माग गरिसकिएको छ।

उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको बताउँदै उनले एक साताअघि नै सरकारसँग खर्च मागिसकिएको बताए ।

साउन १६ गतेसम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले उपनिर्वाचनमा मतदान गर्न पाउने पनि उनले बताए
खरेलका अनुसार उपनिर्वाचनका लागि आयोगले ४० वटा कामहरू गर्नुपर्नेछ।


२०७४ सालमा भएको स्थानीय तह, प्रदेश र संघीय चुनावमा निर्वा्चित जनप्रतिनिधिको पद समयावधि नसकिँदै कुनै कारणले रिक्त भएको खण्डमा उपनिर्वाचन हुन्छ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशैभरका स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको पदको विवरण पठाउन आग्रह गरेको थियो। स्थानीय तहले विवरण पठाएपछि कार्यकारी पदमा मात्रै निर्वाचन गर्न लागिएको हो।

वडाध्यक्ष, गाउँरनगरका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सांसद र संघीय सांसदका लागि उपनिर्वाचन गर्न लागिएको हो।

गण्डकी प्रदेशस्थित कास्की निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ। यहाँ पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जितेका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।

गण्डकी प्रदेशकै बाग्लुङस्थित प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को ’ख’ मा पनि प्रदेश सभा सांसदका लागि उपनिर्वाचन हुँदैछ। प्रदेश नम्बर ३ को भक्तपुरस्थित निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र ’क’ सांसद हरिशरण लामिछानेको निधन भएकाले त्यहाँ पनि उपनिर्वाचन हुँदैछ।

प्रदेश नम्बर ५ को दाङ प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा पनि उपनिर्वाचन हुँदैछ। त्यहाँबाट प्रदेश सांसद चुनिएका उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएको थियो। ४६ स्थानीय तह (गाउँरनगर) मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्