१८ करोड रुपैयाँ हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ

काठमाडौं, भदौ ४ । दाङमा १८ करोड हिनामिना गरेको आरोपमा बंैकका म्यानेजर पक्राउ परेका छन् ।

दाङको नारायणपुरमा रहेको देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका १५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।


देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैयाँ अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो । घोराही उपमहानगर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।

वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् ।

बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफूलाई फाइदा हुने गरी र बैंकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्