एक वर्षको कार्यसम्पादन सम्झौता, एक महिना मै सरुवा

काठमाडौं, भदौ ४ । सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी बनाउन भन्दै कार्यसम्पादन सम्झौता गरेको एक महिनाभित्रै सचिवहरुको व्यापक सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १६ जना सचिवको एकैपटक सरुवा गरेको हो । अधिकांश सचिवहरुसँग मन्त्रीहरुले साउनको पहिलो साता कार्यसम्पादन सम्झौता गरेका थिए ।

मन्त्रीहरुले कम्तीमा पनि एक वर्षसम्मको कार्यसम्पादन सम्झौता गरे पनि सम्झौता गरेको एक महिनामै सचिवहरु व्यापक सरुवामा परेका हुन् । सचिवको सरुवासँगै मन्त्रीहरुले गरेको कार्यसम्पादन सम्झौता अलपत्र परेको छ ।

मन्त्रालयमा आएका नयाँ सचिवहरुसँग मन्त्रीहरुले पुनः कार्यसम्पादन सम्झौता गर्ने वा नगर्ने भन्ने अन्योल सिर्जना भएको अधिकारीहरुले बताएका छन् । –राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्