सांसदको मन्त्री यादवलाई प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

काठमाडौँ , भदौ ३ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग प्रश्न गरे, ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? सिंगापुर नै जानुपर्ने?’

प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै सिंगापुरमा स्वास्थ्य उपचार गरी फर्केको र फेरि जान लागेको स्मरण गर्दै सुवालले केही रुपैयाँको स्वास्थ्य उपकरण खरिद गरिए प्रधानमन्त्री लगायत सर्वसाधारणको नेपालमै उपचार गर्न मिल्ने सुझाए।

यता उपप्रधानमन्त्री एवं स्वाथ्यमन्त्री उपेन्द्र यादवले चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा उपचार गराउन गएको दाबि गरेका छन् ।


मंगलबार सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा यादवले चिकित्सकहरुको सिफारिसमै प्रधानमन्त्री उपचार गराउन बाहिर गएको दाबी गरेका हुन्।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अघिल्लो हप्ता सिंगापुर गएका थिए भने फेरि पनि जाने तयारीमा रहेका छन्।


यादवले नेपालमा विदेश उपचार गराउन जान नपाइने कानुन नभएकाले पनि बाहिर जाने अवस्था रहेको उल्लेख गरे। उपचारका लागि नेपाली विदेश जाने मात्र नभइ विदेशबाट समेत उपचारका लागि नेपाल आउने क्रम बढिरहेको यादवले दाबी गरे।

‘बाहिर उपचार गराउन जाने नदिने कानुन हामीसँग छैन। अहिले नेपालमा पनि उपचार गराउन आउँछन्। आँखाको उपचार नेपालमा विश्वस्तरको छ।

समृद्ध मुलुकहरुले लेन्स किनेका छन्। युरोपबाट समेत बिरामी उपचार गराउन आएका छन्। ८० प्रतिशत बिरामीको आँखाका लागि बाहिरबाट आउने गरेका छन्, यादवले भने।

यादवले सरकारी अस्पतालको सुधारका लागि सरकारले काम गरिरहेको बताए। यादवले सातै प्रदेशमा जनताले विशिष्टकृत उपचार गराउन सक्ने अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाए।

स्वास्थ्यमन्त्री यादवले नेपालमा खतप हुने ४० प्रतिशत औषधि यहीँ उत्पादन हुने र आत्म निर्भर बनाउने योजनासहित सरकार अघि बढेको बताए । सरकारले स्वास्थ्य क्षेत्रमा लागि परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्