डेंगु देखा पर्दैमा आत्ति हाल्नु पर्दैन…..

काठमाडौं,२ भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा एडिज नामक लामखुट्टेको बढेको छ ।
पछिल्ला तीन महिनामा उपत्यकामा डेंगुका ११ जना बिरामी देखिएको महाशाखाले जनाएको छ ।

‘असार, साउन र भदौमा गरी ११ वटा बिरामी भेटिएका छन्,’ महाशाखामा डेंगु रोग हेर्ने सम्पर्क व्यक्ति उत्तमराज प्याकुरेलका अनुसार उपत्यकाभर नै डेंगु सार्ने लामखुट्टे भए पनि बानेश्वर, तीनकुने र ताहचल क्षेत्र उच्च जोखिममा रहेको प्याकुरेलले बताए।

‘डेंगु लागेका बिरामीलाई खुवाउने बेग्लै औषधी हुँदैन। अस्पताल जाने नर्सिङ केयरमा बस्ने हो,’ उनले भने ।

डेंगु नियन्त्रणका लागि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहहरूबीच छलफल समेत भएको छ ।

‘मन्त्रालय, विभाग, प्रदेश, काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहबीच अब कसरी अघि बढ्ने भन्ने छलफल भयो,’ प्याकुरेलले भने, ‘व्यापक रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भन्ने छ।’

डेंगु लागेपछि ज्वरो, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्ष्यण देखा पर्छन्।

डेंगु लागेपछि समयमै स्वास्थ्य संस्था नगए बिरामीको मृत्युसमेत हुन सक्छ ।

दिउँसोपख लामखुट्टेले टोक्दा डेंगु लाग्ने हुँदा बाहुला भएको लुगा लगाउनुपर्छ भने घरमा झुलभित्र बस्नुपर्छ।

उपत्यकाबाहिर मकवानपुर, कास्की, सुनसरी, उदयपुरमा डेंगु देखिएको छ ।

यीमध्ये धरान उपमहानगरपालिकामा धेरै बिरामी छन्। दुई हजारभन्दा बढीमा डेंगु देखिए पनि कसैको मृत्यु नभएको महाशाखाले जनाएको छ। यहाँ लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काम नियमित रूपमा भइराखेको छ।

कास्कीमा पनि साउनमा डेंगु देखा परेको थियो। पोखरा महानगर वडा नम्बर (८ शिवालय क्षेत्रमा १८ जना डेंगुका विरामी भेटिएका थिए। मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर ४ मा पनि डेंगुका विरामी देखा परेका थिए। ३८ जना विरामीको विभिन्न स्वास्थ्य संस्थाको रेखदेखमा राखिएका थिए। हिले सुनसरी लगायत देशका विभिन्न ठाउँमा डेंगुको प्रभाव देखिएको छ । विशेषगरी सुनसरीमा सबैभन्दा बढी यसको प्रभाव छ । अहिले मानिसहरु डेंगु भन्नेबित्तिकै के के न हो भनेर आत्तिहाल्ने गरेको देखिन्छ । तर खासमा डेंगु रोग के हो भन्ने जान्न जरुरी हुन्छ । यो खासगरी लामखुट्टेबाट सर्ने रोग हो । एडिस जातको लामखुट्टेबाट यो रोग सर्छ । एडिस एजप्टाई र एडिस एलोपिक्टस भन्ने लामखुट्टेले टोक्दा डेंगु सर्न सक्छ ।

डेंगु देखिहाल्यो वा परीक्षण गर्दा यो पोजिटिभ भेटियो भने आतिहाल्नु पर्दैन । उच्च ज्वरो आउने, आँखाका गेडीहरु भित्रसम्म दुख्ने, हड्डी दुख्ने, टाउको दुख्ने, शरीरमा डाबर देखा पर्ने, मसलहरु दुख्ने जस्ता चिन्ह र लक्षण देखिए डेंगुको परीक्षण गराउन जरुरी छ । डेंगु लागेका बिरामीमा यस्तै खालका लक्षणहरु देखिन्छन् । यो माथि उल्लेख गरेका दुवै खालका लामखुट्टेले टोक्दा देखिने लक्षण र चिन्ह हो । दुवै जातको लामखुट्टेले टोक्दा चिन्ह र लक्षण समान हुन्छ । दुवै किसिमको लामखुट्टेबाट उस्तै खालको खतरा रहन्छ ।

परीक्षण गर्दा पनि डेंगुको प्रभाव परेको देखिएका केहीमा सामान्य खालको प्रभाव हुन्छ । केहीमा मात्रै अलि गम्भीर हुने हो । १० हजार प्रभावित देखिएकोमा बढीमा १ हजार अलि बढी गम्भीर प्रकृतिका हुन्छन् । होइन भने अरु सामान्य उपचारपछि दैनिक जीवनमा फर्कन सक्छन् । गम्भीर खालका बिरामी पनि नियमीत स्वास्थ्य उपचारपछि ठिक हुन्छ ।

अहिले धरानमा एडिस एजप्टाई नाम गरेको लामखुट्टेले टोकेर भएका बिरामीको सख्या बढी छ । पोखरामा भने दुबै खालको लामखुट्टेको टोकाइबाट बिरामी भएकाहरु भेटिएका छन् । यसको उपचार पद्धति र रोग सार्ने प्रकृति एउटै खालको हुने भएकाले उपचारमा यो कुन जातले गरायो भनेर हेर्ने गरिँदैन । दुवैको उही र उस्तै खालको उपचार पद्धति हो ।

यो रोग लाग्नु भन्दा लाग्न नदिनु नै पहिलो बुद्धिमानी हो । त्यसका लागि हामी आफै चनाखो हुनु जरुरी छ । त्यो भनेको हामी सबैले हाम्रो आफ्नो घरभित्र र वरपर सरसफाईमा ध्यान दिनु नै हो ।

डेंगु रोग नेपालमा मात्रै होइन विश्वका थुप्रै देशमा देखिएको छ । भारतकै कुरा गर्ने हो भने २०१८ को तथ्याँकअनुसार १ लाख मानियसमा यसको प्रभाव देखियो । बंगलादेशमा पनि झण्डै ४४ हजार मानिसमा देखिएको छ । विकसित भनिएका देशहरु अमेरिकामा पनि प्रत्येक वर्ष ४ सय हाराहारीमा यो रोगीहरु भेटिएको छ ।

डेंगु रोग अलि बढी गर्मी ठाउँमा हुने रोग हो । लामखुट्टेलाई २० देखि ३३ डिगी्रसम्मको तापक्रम उपयुक्त हुन्छ । त्यही भएर गर्मी ठाउँमा देखा परिरहेको छ । तर अहिले हामीले हेर्ने हो भने पहाड तथा हिमाली भेगमा पनि देखिन थालेको छ । हाम्रै देशमा पनि पोखरा तथा काठमाण्डौ लगायतका क्षेत्रमा यसको प्रभाव देखिएको छ । यो भनेको जलवायु परिवर्तनको असर हो । बढ्दो शहरीकरणका कारण पनि यसको फैलावट बढीरहेको छ ।

डेंगु रोग सार्ने लामखुट्टे अन्य लामखुट्टेभन्दा फरक खालको छ । यसले सफा पानीमा आफ्नो जीवनचक्र चलाउँछ । अर्थात सफा पानीमा फुल पार्छ । अरु लामखुट्टेले फोहोर पानीमा पनि फुल पार्छ तर यसले सफा खोज्छ । हाम्रा घर वरिपरि जथाभावी फालिएका टायर, बोत्तलमा जमेका पानीमा यसले फुल पार्ने लार्भा हुर्काउने काम गरिरहेको छ । हाम्रा घरघरमा सुन्दरताका लागि फूलका गमलाहरु राखिएका छन्, फूलदानीहरु छन्, कुलर तथा एसीहरु राख्ने चलन छ । यसमा जम्मा हुने पानीमा पनि डेंगु फैलाउने लामखुट्टे हुर्किरहेका हुन सक्छन् ।

अर्को कुरा भनेको शहरीकरण बढेपछि हामीले पर्याप्त पानी सप्लाइ गर्न सकेनौँ । हामीले आवश्यक पर्छ भनेर पानी जम्मा गरेर राख्ने गर्यौँ । साना साना बाल्टिहरुमा, डब्बाहरुमा, ट्यांकीहरुमा पानी जम्मा गर्ने गर्यौँ । यसले गर्दा पनि डेंगु फैलाउने लामखुट्टेलाई सहज हुन गयो । पानी राखेका भाँडाहरु दुई तीन दिनमा सफा गरिरहने । पानी अभाव रहेको ठाउँमा पनि पानी जम्मा गर्ने हो भने छोपेर राख्नुपर्छ ।

हामीले गएको वैशाखमा धरानमा पहिलो पटक यसको प्रभाव भेट्यौँ । त्यसलाई नियन्त्रणको प्रयास गर्दै गर्दा असारसम्म आइपुग्दा पानी परेपछि केही कम भयो । पानी नपर्दासम्म रोगीहरु बढेको देखियो । तर पानी परेपछि भने पहिले फैलिएको जस्तो रहेन कम हुँदै गयो । तर पनि सुनसरीमा अहिले पनि सबैभन्दा बढी यसका प्रभावितहरु छन् । तर त्योभन्दा पनि यसको व्यवस्थापन गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । हामीले यसको व्यवस्थापन राम्रोसँग गरेका छौँ ।

हामीलाई अलि बढी लागेको कुरा पनि प्रभाव रोकिनु पर्ने थियो भन्ने नै हो । तर ठ्याक्कै यो रोकिन सकेको छैन । यो हामीलाई पनि लागेको कुरा हो । धरानमा समस्या आइसकेपछि हामीले गरेको कृयाकलापमा कहीँ कमजोरी पो छ कि भनेर बंगलादेश, भारत र थाइल्याण्डमा डेंगु रोकथाममा काम गरिरहेका एक्सपर्टहरुलाई ल्याएर देखायौँ ।

उहाँहरुले हामीले गरेको काम खोज र नष्ट गर, अर्लि डाइग्नोसिसका कुराहरु, व्यवस्थापन गर्ने कुराहरुको बारेमा स्थलगत रुपमा नै हेर्ने काम भयो । हामीले अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयोगहरु नै अपनाइरहेका थियौँ ।

तर पनि यसमा खोज र नष्ट गर्ने अभियान सडक तथा खुला ठाउँमा भइरहेको भए पनि घरभित्रबाट हुन सकेन कि भन्ने उहाँहरुबाट सुझाव आयो । हामीले फगिङ गर्ने काम पनि बाटो बाटोमा त गरेकै हो ।

ललितपुरको ग्वार्को लगायतका केही क्षेत्रमा स्थलगत रुपमा पुगेर हेर्दा पनि घरघरमा टायर राखेका ठाउँमा लामखुट्टेको फुल र लार्भा भेटियो । यो भनेको घर घरबाटै सफाइ अभियान हुनु वा भनौँ खोज र नष्ट गर भन्ने अभियान अघि बढाउनु जरुरी देखियो । अहिले हामी त्यसैतर्फ बढी केन्द्रित पनि भइरहेका छौँ ।

एक नम्बर प्रदेश खासमा सुनसरीमा डेंगुका प्रभाव सबैभन्दा बढी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पनि अहिले झण्डै ३२ सय बिरामीहरु छन् । त्यसपछि मकवानपुरको हेटौँडा, त्यस्तै पोखरामा पनि बिरामीहरु देखिएका छन् । पोखरामा गएको वर्ष ५ सयभन्दा बढी प्रभावित भएका थिए । तर यो पटक भने कम भएर अहिले ८७ जनामा मात्रै प्रभाव देखिएको छ ।

अहिले काठमाण्डौमा पनि यसको प्रभाव देखिएको छ । काठमाण्डौमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा ५ जना डेंगुका बिरामी भेटिएका छन् । विशेष गरी काठमाण्डौको बानेश्वर, त्रिपुरेश्वर तथा ग्राण्डी अस्पतालको वरपर डेंगुको प्रभाव देखिएको छ । ललितपुरको नक्खुतिर पनि देखिएको छ ।

यहाँको महानगरपालिका पनि खोज र नष्ट गर भन्ने अभियानमा लाग्नु पर्ने देखिन्छ । खोज र नष्ट गर भन्ने उपाय बाहेक यसको अरु उपाय छैन । त्यसैले यो अभियानलाई प्रभावकारी बनाउन प्रत्येक घरघरमा सरसफाई गर्नु जरुरी छ ।

सुनसरीमा जब यो रोगको प्रभाव देखिएको जानकारी आयो हामीले सुरुदेखि नै नियन्त्रणका लागि प्रयास गर्यौँ । केन्द्रले हरेक सहयोग पुर्याएकै हो । विभागले टोलीहरु खटाएकै हो ।

परिचालन राम्रो भएको हो । पालिका, प्रदेश सरकार र संघीय सरकारको पुरै टोली धरानमा खटेको हो । महिला समूह, विभिन्न राजनीतिक दल सबै परिचालन गर्ने काम गरियो । खोज र नष्ट गर भन्ने अभियान घर बाहिर निकै राम्रोसँग भयो । तर कमजोरी कहाँ रह्यो भने घरभित्रको सफाइमा हामी चुक्यौँ ।

हाम्रा केही कमिकमजोरी भए होला । तर अब त्यो सबै कमजोरीलाई आत्मसात गर्दै घरघरभित्रबाट सरसफाई गर्दै यो नियन्त्रणका लागि हामी लागिरहेका छौँ ।

हुन त स्थानीय तहमा खोज र नष्ट गर भन्ने अभियानका लागि केन्द्रीय सरकार गएर गर्न सक्दैन । त्यहीको सरकारले गर्ने हो । त्यो अभियान स्थानीय सरकार र सम्बन्धित प्रदेश सररकारले चलाउनु पर्छ । हामीले त यसको विधि र आवश्यक प्रविधिका साथै प्रयोगको कुरा उपलब्ध गराइदिने हो ।

हामीले डेंगु नियनत्रणको लागि सबै खालका उपायहरु अपनाइसकेका छौँ । हामीले जुन ठाउँमा खोज र नष्ट गर भन्ने विधि अपनायौँ, त्यो ठाउँमा अहिले डेंगु देखिएको छैन । नयाँ नयाँ ठाउँमा यसको प्रभाव देखिँदै गएको छ ।

मेरो घर वरिपरि सबै कुरा व्यवस्थित गरेको छु, गमलामा पानी पनि जम्न दिएको छैन, बोत्तल सिसाहरु पनि व्यवस्थित गरेको छु भनेपछि हाम्रो छिमेकीले पनि त्यही अनुसार गर्नु पर्यो नि । त्यो हुन सक्यो भने मात्रै यसको प्रभाव कम गर्न हामी सक्छौँ ।

गएको वर्ष चितवन, नवलपरासी, झापा लगायतका ठाउँमा खोज र नष्ट गर भन्ने अभियान चलाईएको थियो । तर यो वर्ष सुनसरी, मकवानपुर, काठमाण्डौमा यसको प्रभाव देखियो । अहिले हामीले सोचेको ठाउँ भन्दा विल्कुल नयाँ नयाँ ठाउँमा यसको प्रभाव देखिएको छ ।

अब के रह्यो भने खोज र नष्ट गर अर्थात घर वरपर सबैले सफा राखौँ भन्ने कुरा नै मूल कुरा हो भन्ने सबैले लिनु जरुरी भएको छ । यसका लागि पालिकाले अब बेलैमा सचेत भएर आवश्यक उपाय अवलम्बन गर्नु जरुरी देखिन्छ । आगामी बजेटमा तीनै तहको सरकारले डेंगु रोग नियन्त्रणका लागि निश्चित बजेट छुट्याएर राख्नु जरुरी छ ।

अहिले मान्छेहरु अहिले अलि बढी सचेत भएको पनि देखियो । केही हुनासाथ अस्पतालमा गएर जँचाइहाल्ने गरेका छन् । डेंगु नेपालमा छैन है भन्ने अवस्था बनाउन सहज छैन । युरोप अमेरिका जस्ता देशले त निर्मूल पार्न सकेको अवस्था छैन । त्यसैले नेपालले निर्मूल नै पार्न सक्ने देखिँदैन । नयाँ कुनै भ्याक्सिन आए वा नयाँ केही प्रविधि आए निर्मूल होला होइन भने त्यो सम्भव देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्