संसदमा उठ्यो रवि लामिछानेको गिरफ्तारी र पुडासैनीको मृत्यु प्रकरणका कुरा, कसले के भने ?
काठमाण्डौ , भदौ १ । प्रतिनिधिसभाको आइतबारको बैठकमा पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु र रवि लामिछाने गिरफ्तार प्रकरणको विषयले प्रवेश पाएको छ ।
संसदको शून्य समयमा आफ्ना भनाइ राखेका नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनकाविरुद्ध रहेको बताए ।
आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेको भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह पनि गरे ।
उनले भने , ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुन पानीको चोखो हुन्छ ।
अपराधि हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लगिरहेको छ ? आज गम्भीर चिन्ता र चासोको विषय भएको छ ।’
उनले लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्यको निन्दासमेत गरे ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको प्रति गम्भीर चिन्ता उत्पन्न भएको बताए ।
यस्ता गतिविधिले अपराधिलाई अझ प्रोत्साहन गर्ने हुँदा यसतर्फ सबैको ध्यान गम्भीर हुनु जरुरी रहेको पनि उनले बताए । यसको सत्य तथ्य बाहिर ल्याउ पनि उनले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्