मलेसियामा अवैधानिक भएका नेपाली कामदार स्वदेश फर्किन थाले

काठमाण्डौ, साउन ३२ । मलेसियामा अवैधानिक भएर बसेका नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक कामदारलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

साउन १६ अर्थात अगस्ट १ देखि पुस १५ अर्थात डिसेम्बर १ सम्मको लागि मलेसियाले आममाफीको समय दिएको छ । मलेसियामा अवैधानिक रहेका नेपाली सहित अरु देशका नागरिकले यो समयमा आफ्नो देश फर्कन पाउनेछन् ।

वैधानिक बनेर स्वदेश फर्किनको लागि दूतावास आउनेको संख्या बढिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

‘अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सयवटा ट्राभल डकुमेन्ट बनिसकेको र त्यसबाहेक क्वालालम्पुर बाहिर गएर पनि थप ८० वटा डकुमेन्ट बनाइसकेका छौँ’ दूतावासका द्वितीय सचिव प्रतिक कार्कीले जानकारी दिए ।

उनले यो पटक १२ देखि १४ हजारसम्मले सेवा लिने अपेक्षा गरेको भन्दै बढीभन्दा बढी अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन आफूहरु लागिपरेको बताए ।

‘दूतावासका कर्मचारीहरु क्वालालम्पुरबाहिर विभिन्न ठाउँमा पुगेर पनि अवैधानिक भएकाहरुको ट्राभल डकुमेन्ट बनाउने काम गरिरहेका छौँ’ उनले भने ‘केही अध्यागमन कार्यालयमा सेवा लिन चाहने नेपाली कामदारलाई सजिलोको लागि दूतावास आफैले यातायात सेवा प्रदान गरेको छ ।’

नेपाली दूतावासले गर्न सक्ने काम आफूहरुले गरेको भन्दै पैसा नभएका अथवा समस्यामा परेकाहरुलाई ट्राभल डकुमेन्ट निःशुल्क बनाइदिएको उनले बताए ।

यस्तै अवैधानिक भएका सबै नेपाली कामदारलाई अझै समय बाँकी छ भनेर नबस्न र जतिसक्दो चाँडो नेपाल फर्किनको लागि प्रक्रिया सुरु गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्