हैटौँडाको एक पेट्रोल पम्पमा शिलबन्दी

काठमाडौं, साउन ३१ । पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई शुक्रबार शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।


हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले बताए ।

“नापतौल ऐन २०२५ विपरीत काम गरेको र आफ्नो इच्छाअनुसार शिल काटेर पेट्रोल, डिजल बिक्री वितरण गर्ने देखिएकाले सो पम्पमा कारवाहीका लागि शिलबन्दी गरिएको छ”, उनले भने, “पम्पको डिजल र पेट्रोल दुवै मेसिनमा जाँच गर्दा एसेम्ब्लीको शिल काटिएको पाइएको थियो ।”


पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउनसमेत जानकारी गराइएको छ ।
सम्बन्धित व्यवसायीलाई तीन दिनभित्र नापतौल कार्यालय वीरगञ्जमा हाजिर हुन पत्र काटिएको प्रमुख यादवले राससलाई जानकारी दिए ।


बारा, पर्सा, रौतहट र मकवानपुरका सञ्चालित पम्पहरुको विगत केही महीनादेखि अनुगमन तीव्र पारिएको र कैफियत देखिएका करीब एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको पनि प्रमुख यादवले बताए ।


बारा, पर्सा, रौतहट र मकवानपुरका ६० प्रतिशत उद्योगी व्यवसायीले नापतौल यन्त्रको जाँच नगराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्