चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को- को परे ?

काठमाडौं, साउन ३० । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस गरिएको छ।

बुधबार बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुंगो लगाएको हो।


शिक्षा मन्त्रालय स्रोतका अनुसार समितिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

समितिले सिफारिस गरेको नाम आज मन्त्रिपरिषद्मा लैजाने तयारी भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिफारिसको एक नम्बरमा परेका डा शेरचन मानसिक अस्पतालका पूर्व निर्देशक हुन्। पाटन अस्पतालमो उनकै अगुवाइमा मानसिक रोगका विषयमा अध्यापनको काम सुरु भएको थियो। उनले रसियाबाट एमबिबिएस र एमडी अध्ययन गरेका हुन्।


दोस्रो नम्बरको सिफारिसमा परेका डा पहारीले लामो समय वीर अस्पतालमा काम गरेका थिए। उनी इन्टरनल मेडिसिनका विज्ञ हुन्। अवकासपछि उनले लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा प्राध्यापनको काम समेत गरेका थिए। उनी कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी चिकित्सक समेत थिए।


तेस्रो नम्बरको सिफारिसमा परेका डा गिरी हाडजोर्नी विशेषज्ञ हुन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टार हुन्। चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत उनले काम गरेका छन्। हाल उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।


उपाध्यक्ष पदका लागि आवेदन दिएका नौ जना डाक्टरमध्ये साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिसमा परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्