मन्त्री पण्डिले भने- प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव केन्द्रबाटै खटाइन्छ ।

काठमाण्डौ, साउन २८ । सरकारले प्रदेशका प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिव प्रदेश निजामती सेवाबाट व्यवस्था गर्न नसकिने स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव संघीय निजामती सेवाबाट नै व्यवस्था गरिनुपर्ने बताएका हुन् ।


अन्तरसम्बन्ध कायम राख्नका लागि पनि संघबाट पठाउने व्यवस्थाले प्रदेशलाई अविश्वास गरेको भन्न नमिल्ने र अधिकारमाथिको कुठारघातको रुपमा पनि बुझ्न नमिल्ने मन्त्री पण्डितले तर्क गरे ।

उनले छिमेकी देश भारतमा पनि संघबाट खटाउने व्यवस्था रहेको भन्दै उनले उल्लेखित व्यवस्थालाई संशोधन गर्न नसकिने अडान लिए ।


समिति सदस्यहरुले कर्मचारी समायोजन ऐनमा भएको व्यवस्थाभन्दा भिन्न रहेर ऐन बनाउन नसकिने तथा केन्द्रबाट नै प्रमुख सचिव र सचिव पठाउने व्यवस्था राख्दा संघीयताको सही कार्यान्वयन नहुने भन्दै संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइरालाले सहकार्य र सहअस्तित्वको आधारमा रहनका लागि केन्द्रसँग अन्तरसम्बन्ध कायम राख्न तथा केन्द्रबाट गएको बजेट कार्यान्वयन लगायतले पनि केन्द्रबाट नै प्रदेशका प्रमुख सचिव नियुक्ति गर्ने व्यवस्था गरिएको बताए ।


एनले भने , ’समायोजन ऐनसँग केही कुराहरु अलिकति भिन्नरुपमा अघि नबढाउँदा भविष्यमा केन्द्र, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध टुट्ने भएकाले अथवा केन्द्रबाट जाने रकमका बारेमा तल्लो तहसम्म जानका लागि पनि माध्यम चाहिने भएकाले यसलाई अहिले समायोजन ऐन २०७५ अनुसार मिलान गर्न सक्ने अवस्था छैन ।’

समितिका अधिकांश सदस्यहरुले भने प्रदेशका सचिवहरु प्रदेश स्तरबाटै हुने विषयलाई अन्तरसम्बन्ध नै सकिन्छ भन्ने नमिल्ने भन्दै प्रदेशको प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव चयन प्रदेशबाटै गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे ।

सदस्यहरु यशोधा गुरुङ सुवेदी, रेखा शर्मा, डिला संग्रौला पन्त लगायतले कर्मचारी समायोजन ऐन अनुसार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पनि संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।

उनीहरुले प्रदेशको मन्त्री मुख्य मन्त्रीले नियुक्त गर्ने र सचिव केन्द्रले पठाउने गर्दा समन्वय नहुने र संघीयताको मर्म अनुसार पनि नहुने तर्क गरे ।

समिति सदस्य नवराज सिलवालले भने सम्पूर्ण रुपमा प्रदेशलाई सुम्पने अवस्था नरहेकाले निश्चित समयका लागि केन्द्र सरकारले नै प्रदेश प्रमुख सचिव र सचिव पठाउने व्यवस्था गरिनुपर्ने धारणा राखे ।

समितिले मंगलबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको १ सय २३ देखि १ सय ३२ सम्मका विषयमा दफाबार छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्