बाग्मती जलविद्युत दुई महिनादेखि बन्द हुँदा १५ करोडको आम्दानी गुम्यो, क्षतिपूर्तिका लागि निवेदन

काठमाडौं , साउन २८ । बाग्मती जलविद्युत दुई महिना देखि बन्द हुँदा १५ करोडको आम्दानी गुम्न पुगेको छ ।

सबै जलविद्युत आयोजना पूर्ण क्षमतामा चलिरहेका बेला बाग्मती जलविद्युत आयोजना भने दुई महिनादेखि ठप्प रहेको छ ।

गत चैत्र १९ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको यो आयोजना वर्षा सुरु हुनु अघिनै बन्द भएको हो ।


नेपाली सेनाले फाष्ट ट्रयाक निर्माण गर्दा ढुंगा र माटो खसेका कारण आयोजना बन्द भएको हो। आयोजनामा क्षेति पुगेको भन्दै कम्पनीले क्षतिपूर्तिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ।
आयोजना गत जेठ अन्तिम सातादेखिनै बन्द छ।

पूर्ण क्षमतामा विद्युत उत्पादन हुने वर्षायाममा आयोजना बन्द भएपछि ठूलो आर्थिक भार परेको भन्दै आयोजनाले क्षतिपूर्ति दावी गरेको हो। २२ मेगावाटको आयोजना दुई महिना बन्द हुँदा १५ करोड रुपैयाँ भन्दा बढी नोक्सान भइसकेको छ।

यता नेपाली सेनाले निर्माण गरिरहेको फास्टट्र्याकको ट्र्याक खोल्ने क्रममा खसेको ढुङ्गा, माटो र बालुवाका कारण आयोजनामा क्षति पुगेको आयोजनाले दावी गरेको छ।

वर्षा सुरु हुनु अघिनै आयोजना बन्द भएकोले प्राकृतिक प्रकोपका कारण आयोजनामा अवरोध आएको मान्न नसकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्