जथाभावी पार्किङ गरिएको करिब ३९ हजार सवारीसाधन परे कारबाहीमा

काठमाडौ,२७ श्रावण । जथाभावी पार्किङमा राखिएका करिब ३९ हजार सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारबाही गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभाबी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारबाही गरेको हो ।

महाशाखाले आव २०७४/०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारबाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, न्यूरोड, बानेश्वर, कोटेश्वर, सातदोबाटो, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैधरुपमा पार्किङ गर्ने सवारीसाधनलाई कारबाही गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको सवारीसाधनलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

महाशाखाले नो पार्किङ क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीको सहायतामा बग्गीखानामा ल्याएर कारबाही गर्ने तथा ठूला सवारीसाधनलाई ‘ह्वील लक’ लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्