काठमाडौं विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

काठमाडौं, साउन २६ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी गरेको छ ।

विश्वविद्यालय प्रशासनसँग यसअघि पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आज सङ्घले उपकुलपति र रजिस्ट्रार तथा गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको हो ।

नेपालको संविधान र विश्वविद्यालय ऐनले निर्दे्शित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नगरेको र सर्बपक्षीय सहभागिताबिनै कार्यसम्पादन भइरहेको भन्दै प्राध्यापक संघले तालाबन्दी गरेको हो ।

विश्वविद्यालयमा प्राज्ञिक व्यवस्था कायम गर्न बेवास्था गरेको, सार्वजनिक सम्पत्तिलाई व्यक्तिको जस्तो गरी कार्य गर्ने, सुधार गर्ने मौका हुँदा पनि सुध्रिने स्थिति नदेखिएको भन्दै प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रार बहिर्गमन हुनुपर्ने मागसमेत गरेको छ ।

प्राध्यापक संघले विश्वविद्यालयमा हुने नीतिगत तथा आर्थिक भ्रष्टाचारको विषय उठाउँदा कारबाही नगरिएको, विश्वविद्यालयमा भएका अनियमितताबारे समाचार सम्प्रेषण हुँदासमेत आधिकारिक धारणा नआएको विषयसमेत उठाएको छ ।

आफ्ना मागहरु पुरा नहुन्जेल कार्यालयमा तालाबन्दी कायमै रहने उनीहरुले बताएका छन् । पटक पटक आफ्ना मागहरुको व्यवास्था गरेकाले कार्यालयमा ताला लगाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्