तिब्बतीलाई नेपाली नागरिकता, ८ जना प्रहरीको हिरासतमा

काठमाडौं, साउन २६ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा कास्कीमा ८ जना पक्राउ परेका छन् ।

पोखरा–१८ सराङ्कोटका लेखबहादुर थापा सहित ८ जनालाई कास्की प्रहरीले शुक्रबार पक्रेको हो । थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाएको आरोप लागेको छ ।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ । उनलाई सघाएका स्थानीय र नागरिकता लिएकासहित ८ जना पक्राउ परेका हुन् । लेखबहादुरका नातिनी सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

लेखबहादुरकै छोरी हुन् भन्ने सर्जि्मिन मुचुल्कामा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत समातिएका छन् । लेखबहादुरले छोरी दाबी गरेका दुवै छोरी नभएको पुष्टि भएपछि पक्राउ गरिएको कास्की प्रशासन स्रोतले जनाएको छ ।

शुक्रबार समातिएका उनीहरू सबै ८ जना कास्की प्रहरीको हिरासतमा छन् । उनीहरूविरुद्ध झूटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकमा मुद्दा चल्ने कास्कीका सीडीओ चक्रबहादुर बूढाले जानकारी दिए ।

नागरिकता लिन पेस सबै कागजातमा दुवै युवतीका बाबुको नाममा लेखबहादुर थापाको नाम उल्लेख छ । जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ । झूटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो । छानबिनमा विवरण झूटो पुष्टि भएकाले पक्राउ गरिएको सीडीओ बूढाले बताए ।

पक्राउमाथि नागरिकता ऐन २०६३ अनुसार कारवाही अघि बढ्ने जनाइएको छ । कसुर प्रमाणित भए १–५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ । कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीको नागरिकता जफत गरेको थियो । उनीहरूले राहदानी भने लिन भ्याएका थिएनन् ।

नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक ७ महिना मात्र छ । त्यसैका आधारमा छानबिन सुरु भएको थियो । यो प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारवाहीका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्