पूर्वमन्त्रीहरुसँग बयान लिन अख्तियारको आलटाल

काठमाडौं, साउन २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ ।

स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले गत साता १५ जनासँग मात्रै बयान लिएको छ । यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो ।

अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६ जना बढीलाई सार्वजनिक सूचना नै जारी गरी बयानका लागि बोलाएको थियो ।

बयान लिन थालेको तीन साता बितिसक्दा समेत न्यून संख्यामा मात्रै बयान लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियारले पूर्वमन्त्रीहरू छविराज पन्त र डम्बर श्रेष्ठसँग पनि बयान लिएको स्रोतले जानकारी दियो ।

‘पूर्वमन्त्रीहरू बयान दिनका लागि गत साता बिहानै आएका थिए,’ स्रोतले भन्यो, ‘करिब तीन घण्टा अख्तियारमा बयान दिएर बाहिरिए ।’

चुनावताका बनेको सरकारका मन्त्रीहरूसँग बयान लिइए पनि त्यसअघि राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्रीहरूसँग भने अख्तियारले बयान लिन आलटाल गरेको स्रोतले बताएको छ ।

केही दिनदेखि अख्तियारमा नक्कली जग्गाधनी बयानमा आउने क्रम भने बढेको अख्तियारको दाबी छ । (राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्