धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो, २२ अझै बेपत्ता

काठमाडौं , साउन २४ । धादिङमा शुक्रबार बिहान भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अझै बसमा सवारमध्ये २२ यात्री बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बिहान ३ बजेर तिर बस खस्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एकजना मृतकको भने सनाखत हुन सकेको छैन । उनीहरु तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

यसैगरि चितवनको जुगेडीमा एक, मुग्लिनमा एक र देवघाटमा दुईजनाको शव फेलापरेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सनाखत हुन सकेको छैन ।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना६ख ७४६९ नम्बरको बसमा ४५ जना सवार थिए । जसमा बसचालक र दुईजना सहचालक रहेको प्रहरीले जनाएको छ ।

बिहान साढे ३ बजेतिर सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको बसलाई क्रेनको सहायताले नदीबाट निकालेर किनारमा ल्याइएको छ । तर, बसभित्र कोही पनि नभेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये १६ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याएको छ ।

बसमा सर्लाहीको मलंगवाबाट चलानी हुँदा ३८ जना यात्री रहेको प्रहरीले जनाएको छ । बसका यात्रीकाअनुसार बाटोमा केही यात्री थपिएका थिए ।

कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोलीसमेत परिचालन गरेर दुर्घटनाका बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्