नेपाल बैंकर्स संघले भन्यो -वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भयो

काठमाडौं, साउन २३ । नेपाल बैंकर्स संघले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भएको बताएको छ ।

सरकारले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कर्जा प्रवाह गर्न समस्या भइरहेको स्पष्ट पारेको हो ।

संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले साढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भइरहेको प्रष्टयाएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया एक वर्ष्भित्र पनि सुरु नभए नेपाल राष्ट्र बैंकमा कर्जा नोक्सान सुरक्षण दावी गर्न नमिल्ने प्रावधान अहिले पनि रहेकाले बैंकहरुले ५ वर्षसम्मका लागि वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने अवस्था रहेको पनि बताए ।

उनले कर्जा लिनका लागि सो कर्जालाई सदुपयोग गर्ने कार्यक्रम र ऋण तिर्ने स्पष्ट कार्ययोजना पनि बैंकमा पेश गर्न वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई पटकपटक आग्रह गरे ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भने कर्जा सुरक्षाको जिम्मा सरकारले लिने भन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन बैंकहरुलाई सचेत गराएका थिए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको ज्ञान, अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएको पनि स्मरण गराए ।

युवा तथा खेलकुद मन्त्रालयकै अग्रसरतामा आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको संस्था रिटर्नी माईग्रेट, नेपालका पदाधिकारीहरुले बैंकहरुले सहुलियत दरमा कर्जा दिन ढिलाई गरिरहेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्