माथिल्लो त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम अघि बढ्दै, ३५ प्रतिशत काम सकियो

काठमाण्डौ, साउन २३ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम अगाडि बढिरहेको छ ।

३ वर्ष निर्माण अवधि रहेको आयोजनाको २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेका अगाडी बढिरहेको हो।

निर्माण पूर्वका सम्पूर्ण तयारी पूरा गरी गत चैतबाट निर्माण सुरु भएको आयोजनाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये ७२४ मिटर खनिएको छ । मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्री बी’ले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजना निर्माण कार्यक्रममा चासो दिंदै नियमित रुपमा प्रगतिको जानकारी लिने गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले केही दिनअघि निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएका छन् ।

घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिसँग आयोजनास्थलमै छलफल गरी गुणस्तर र सुरक्षामा विशेष ध्यान दिंदै निर्धा्रित समयमै काम सक्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्