लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २२ । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरुले सुनसरी, धरान उपमहानगरपालिकामा घरैपिच्छे डेंगुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेंगुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकाले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसदहरु राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा डुबानको समस्याका कारण धेरै मानिस घरबारविहीन भएको भन्दै तिनीहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्न आग्रह गरे ।

सांसद महेश्वरजंग गहतराजले तराईमा वर्षै्पिच्छे डुबानका कारण ठूलो धनजनको क्षति भएको हुँदा सहरी विकास मन्त्रालयले डुबानमुक्त घरका नक्सा बनाइ डुबानमुक्त घर निर्माण गर्नुपर्ने सुझाव दिए ।

सांसद रामकुमारी झाँक्रीले सरकारी अस्पतालभन्दा गैरसरकारी अस्पतामा मानिसको अकालमा मृत्यु भइरहेको र मानिसको जीवनजस्तो अमूल्य चीजलाई लापरबाही गर्ने निजी अस्पतालका डाक्टरलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद महेश बस्नेतले बनेपा–सिन्धुली सवारी यात्रा गर्ने दोस्रो मुख्य सडक भएको हुँदा उक्त सडकलाई ६ लेनको बनाउने विषयमा उचित चासो राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको विभिन्न स्थान सुक्खाग्रस्त भएर नागरिक निकै आक्रान्त भएको हुँदा दीर्घकालीनरुपमा स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन् ।

सांसद राजेन्द्रप्रसाद गौतमले संखुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नस्ट भएकाले पुनः जग्गा नाप्ने व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्