वायु सेवा निगममा सुधार ल्याउन मन्त्री भट्टराईद्वारा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं, साउन २२ । सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन् ।


समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

राष्ट्र हित, जनताको हित र नेपाली ध्वजावाहक विमानको अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रतिष्ठान बढने गरी एक महिनाभित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो निगमको सुधारका लागि आफूले पटक–पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताए ।

मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताए । उनले सो निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री भट्टराईले अब छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना पनि अघि सारे । उनले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्ष्भित्र सुरु गर्ने घोषणा पनि गरे ।

राजनीतिक सहमति जुटाएर सो विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ ।

मन्त्री भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग आवश्यक निर्देशन लिने र सोहीअनुसार अन्य राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग आफूले छलफल गर्ने पनि बताए ।

मन्त्री भट्टराईले सो विमानस्थलको लगानीको व्यवस्था गर्न लगानी बोर्डसँग पनि छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्