२१ लाख रुपैयाँसहित एकजना सशस्त्र प्रहरीद्वारा पक्राउ

काठमाडौं, साउन २१ । सशस्त्र प्रहरीले २१ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–९ हनुमान चोकबाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका–१ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका ठाकुरलाई सशस्त्रको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।


पक्राउ परेका ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्