जुम्लाका सांसद महतले दिए ,कुलमान र मन्त्री पुनलाई श्री ३ महाराजको संज्ञा : भने -कमिसन आउने ठाउँमा मात्रै काम गर्छन्


काठमाण्डौं, साउन २१ । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका छन् ।

जुम्लामा लामो समयसम्म विद्युत सेवा बन्द भएको तर पटक–पटक आग्रह गर्दा पनि विद्युत सेवा नर्पुयाएको भन्दै महतले घिसिङ र पुनलाई श्री ३ महाराजको संज्ञा दिएका हुन् ।

‘२०३८ सालमा बनेको २ सय किलोवाटको जलविद्युत आयोजना अहिले बिग्रेर थन्किएको छ, त्यो बन्न अझै ३–४ महिना लाग्छ, जुम्ला अँध्यारोमा छ, धेरै मिडियामा आयो, चर्चा भयो, हामीले संसदमा पनि कुरा उठायौँ, हाम्रा श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनलाई भेट्न खोज्यौँ, तर भेटन पनि पाइँदैन, फोन पनि उठ्दैन’, सांसद महतले भने ।

उनले भने, ‘के नेपालमा विद्युत प्राधिकरण छैन ? जुम्ला जिल्ला नेपालको भूमि होइन ? जुम्लामा १ लाख मान्छे बस्छन्, उनीहरुलाई उज्यालो चाहिन्न ?’ उनले भारतमा बिजुली बेचेको भनेर खुशी हुनुपर्ने अवस्था नरहेको पनि बताए ।

‘यति प्रगति र्गयौं र उति र्गयौं भन्छन्, अनि भारतमा पनि बिजुली बेचे रे, कृपया अहिले भारतलाई होइन, हामीलाई बेचिदिनुस्, जुम्लामा पनि नागरिक छन्, विद्यार्थी छन्, बिरामी छन्, हाम्रा श्री ३ महाराजलाई भन्न चाहन्छु, जुम्लाको समस्या हेरिदिनुर्पयो ।’

अहिले जुम्लामा डिजल प्लान्ट राख्ने तयारी भए पनि मासिक १५ लाखसम्म खर्च आउने उनको भनाइ छ । सांसद महतले विद्युत प्राधिकरण र मन्त्रीले कमिसन आउने ठाउँमा मात्रै काम गरेको पनि आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्