काठमाडौंबाटै विप्लव समुहका तीन केन्द्रिय नेता पक्राउ

काठमाडौं, साउन २१ । विप्लव समुहका ३ केन्द्रिय नेता काठमाडौंबाटै पक्राउ परेका छन् ।

काठमाडौंको बत्तीसपुतलीबाट महानगरीय अपराध महाशाखाको टोलीले प्रतिबन्धित विप्लव समूहका तीन केन्द्रीय नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ रहेका छन् ।

पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।


सरकारले फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

विभिन्न जिल्ला बाट विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्