सूर्या लाइफले ७०% हकप्रदको लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं, साउन, २० । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले ७०% हकप्रद सेयर बिक्री गर्न साउन २९ गते बुक क्लोज गर्ने भएको छ । साउन २८ गते सम्म कायम रहने सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन । इन्स्योरेन्सले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले इन्स्योरेन्सको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

यसअघि कम्पनीले १२% बोनस सेयर वितरण गर्ने प्रस्ताव असार ११ गतेको साधारण सभाबाट पारित गरिसकेको छ ।
१२% बोनस र ७०% हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो ।

प्रतिक्रिया दिनुहोस्