सिंगापुर उडेका प्रधानमन्त्रीसहित नौजनाको ‘प्लेन टिकट’ सरकारले व्यहोर्ने

काठमाडौँ , साउन १९ । सिंगापुर उडेका प्रधानमन्त्रीसहित नौजनाको ‘प्लेन टिकट’ सरकारले व्यहोर्ने भएको छ ।

स्वास्थ्य जाँच र आगामी दिनमा गर्न सकिने थप उपचारबारे परामर्श समेत लिन प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरतर्फ उडेको एक दिनपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले त्यसको खर्चबारे मुख खोलेका छन्।

१२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरी चिकित्सकै निगरानीमा राजनीति गर्दै आएका प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने तर ‘ट्राभल कस्ट’ सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिएका छन्।

सरकारले प्रधानमन्त्री ओलीसँगै गएका टोलीको टिकट पनि सरकारले काटेको बास्कोटाले खुलाएका छन्।

ओलीसँगै पत्नी राधिका शाक्य, निजी चिकित्सक डा दिव्या सिंह शाह, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश ब्रजाचार्य लगायत नौजना सिंगापुर उडेका छन्।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. शाहकाअनुसार उनको सिगांपुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य जाँच गरिने छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसपटक स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै त्यहाँ आराम गर्ने योजना बनाएका छन्।

खासगरी आफ्नो मृर्गौलाको अवस्थाबारे जानकारी लिने योजना प्रधानमन्त्री ओलीको छ। उनी आगामी साउन २४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्