अरुण तेस्रो जलविद्युत् आयोजनाको २२ प्रतिशत काम सकियो, थप काम समयमै सक्न ऊर्जामन्त्री पुनको निर्देशन
काठमाण्डौं साउन १९ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ ।
भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएनले निर्माण गरिरहेको आयोजनाको काम २२ प्रतिशत सम्पन्न भैसकेको कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको भेटमा सीईओ धिमानले सुरुङको काम १२ प्रतिशत सकिएको पनि दिए ।
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गदैै उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको समेत आसवाश्न दिए ।
‘सरकार र ऊर्जामन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौँ, तपाईँहरुले समय सीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ’, मन्त्री पुनले भेटमा भने ।
एसजेभीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण तेस्रो जलविद्युत् परियोजना समय सीमाभित्र नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भैरहेको जनाउँदै स्थानीयले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए ।
नेपालमा पछिल्लो समय लगानीको लागि राम्रो वातावरण बनेको भन्दै उनले आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको गर्न इच्छुक रहेको मन्त्री पुनसँग भेटमा जनाकारी दिए ।
९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको झन्डै २२ प्रतिशत अर्थात १ सय ९८ मेगावाट विद्युत् २५ वर्षसम्म भारतले नेपाललाई निःशुल्क दिनेछ । २५ वर्षपछि भने आयोजनाको स्वामित्व नेपालकै हुनेछ ।
आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकमुष्ठ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्