आउँदो मंसिर १४ गते उपनिर्वाचन हुने , तयारी तिब्र

काठमाण्डौ , साउन १८ । विभिन्नब कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उपचुनावको घोषणा भएको छ ।

३७ जिल्लामा विभिन्न ५० पदमा उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित सहित ५० पदमा पदका लागि उपचुनाव हुने छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै चुनावको विस्तृत कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए ।

गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वा्चित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यो पद रिक्त छ । यस्तै, प्रदेश सभाका सदस्यहरु प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधनपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो ।

पालिकातर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएका कारण उपचुनाव हुन लागेको हो । त्यस्तै, विभिन्न जिल्लामा गरी ४१ वडाअध्यक्ष पदमा पनि उपचुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्