राष्ट्रपति–प्रधानमन्त्रीलगायत उच्चपदस्थको तलब १८ प्रतिशतले बढ्यो

काठमाडौं , साउन १८ । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको हो ।

सरकारले जेठ १५ मा ल्याएको राष्ट्रसेवक कर्मचारीको तलब बृद्धि गरेको थियो ।

कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिबसम्मको तलब १८ प्रतिशतले बृद्धि गरेको थियो । त्यतिबेला सरकारले बिशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको थिएन ।

स्रोतका अनुसार राष्ट्रध्यक्षको तलबमा २७ हजार ८१ रुपैंयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय ५० बाट बढेर १ लाख ७७ हजार ५ सय ३१ पुगेको छ ।

उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख २५ हजार १ सय १५ रुपैंयाँ पुगेको छ ।

प्रधानमन्त्रीको तलब १३ हजार ९ सय १० बढेको छ । प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० बाट बढेर ९१ हजार १ सय ९० पुगेको छ । (कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्