बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाइ
काठमाण्डौ, साउन १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अर्थमन्त्री खतिवडाले बेरुजु असुल उपरका लागि सहज बनाउन आर्थिक गतिविधिको लेखा परीक्षणालाई छुट्टै ढंगले गरिदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह पनि गरे ।
महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादनसम्बन्धी कुरालाई पनि आर्थिक गतिविधिको लेखा परीक्षणसँग मिसाउने गरेकाले बेरुजु असुलीमा समस्या परिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
शुक्रबार संघीय संसदको अर्थ समितिमा ‘आर्थिक कार्य्विधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै खतिवडाले संघ, प्रदेश र पालिकाको विनियोजित बजेटको खर्च प्रणालीलाई पारदर्शी बनाउन सरकार लागिपरेको बताए ।
अर्थमन्त्री खतिवडाले त्यही कामको लागि कानुनी व्यवस्था गर्न सरकारले विधेयक संघीय संसदमा पुगेको पनि स्पष्ट पारे ।
उनले विधेयकमा संघ, प्रदेश र स्थानीय तहको विनियोजित बजेट कार्यान्वयनका लागि जवाफदेही बनाउने प्रावधान पनि राखिएको स्पष्ट पारे । विधेयकमा वित्तीय उत्तरदायित्व पूरा नगर्ने कुनै पनि निकायमाथि कडा कारबाही गर्ने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाको दावी छ ।
बैठकमा संशोधनकर्ता सांसदहरुले बेरुजु घटाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका कांग्रेस सांसद भरतकुमार शाहले साढे ६ खर्ब बेरुजु देखिएकोले त्यसलाई असुल उपर हुने गरी कडा कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराए ।
सत्तारुढ नेकपाका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जग्गालगायतका सार्वजनिक अचल सम्पत्तिको विवरण राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले आफू अर्थमन्त्री हुँदा देशभरको सार्वजनिक जग्गालगायतको अचल सम्पत्तिको विवरण राख्ने जिम्मेवारी महालेखा नियन्त्रकको कार्यालयलाई दिइएको उल्लेख गर्दै त्यसको कामलाई प्रभावकारी हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।
विधेयकमा संघ, प्रदेश र स्थानीय तहमा विनियोजित बजेटको पारदर्शी ढंगले खर्च हुने गरी लेखा अधिकृतको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्