अब सहकारीले ऋणमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने, लिए हुनेछ यस्तो कारवाही

काठमाडौं, साउन १७ । अब सहकारीले ऋणमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । यसैअनुरुप सहकारीले पनि तोकिएको भन्दा बढी ब्याज लिन नपाउने भएका हुन् ।

सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस अनुसार सहकारी संस्थाहरुको पनि कर्जाको व्याजदर १६ प्रतिशत भन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था पनि गरिएको स्पष्ट पारे ।

सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डेको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो ।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्य्विधि र निर्दे्शिका बनाउने कार्यलाई पनि अघि बढाइएको जनाएको छ । विभागका रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रको सुशासनका लागि पनि कार्य्विधि र निर्दे्शिका आवश्यक रहेको पनि बताए ।

यसैबिच कर्जामा १६ प्रतिशत भन्दा बढी ब्याज लिए सहकारी ऐन २०७४ अुनसार कारबाही हुने विभागले जनाएको छ ।

एनेको १२४ मा व्यवस्था गरिएअनुसार नगरे दफा १२५ अनुसार कारबाही हुनेछ ।

ऐन अन्र्तगत बनेका नियमविपरीत सदस्यसँग ब्याज लिएमा, ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्