निर्वाचन आयोग र दलबीच मङ्सिरमा उपनिर्वाचन गर्ने सहमति जुट्यो

काठमाडौँ, साउन १६ । निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्न सहमति जुटेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्नेछ ।

उपनिर्वाचनका बारेमा निर्वाचन आयोगले दलहरुसँग छलफल बिहीबार गरेको छलफलमा दलहरुले आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

आयोगको कार्यालयमा भएको छलफलमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका झण्डै १८ वटा दलका प्रतिनिधि सहभागी थिए ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले लगभग मंसिरमा उपनिर्वाचन गर्न आयोग र दलहरु सहमत भएपनि मितिबारे आयोग र सरकारको छलफलपछि मात्रै तोकिने बताए ।

‘सरकार र आयोगबीचको परामर्शमा मिति तोकिन्छ’ प्रवक्ता खरेललले भने, ‘उपनिर्वाचनको मिति स्थानीय तहको सरकारले तोक्छ, प्रदेश र संघीय निर्वाचनको मिति तोक्नो अधिकार आयोगलाई छ ।’

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आफ्नो तर्फबाट गर्ने तयारी भइरहेकाले मंसिरमा उपनिर्वाचन गर्न कुनै समस्या नरहेको बताएको छ ।

आजको छलफलमा स्थानीय तह, प्रदेश र संघीय तीनै तहको उपनिर्वाचन एकै दिन गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्