असफल भएको महसुस हुनासाथ पदबाटै राजीनामा दिन्छु : पर्यटनमन्त्री भट्टराई
काठमाण्डौं, साउन १६ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसुस हुनासाथ पदबाटै राजीनामा दिने घोषणा गरेका छन् ।
बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले भोलिपल्ट बिहीबार सञ्चारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महसुस हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
बिहीबार बिहानै काठमाण्डौको बल्खुमा रहेको तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उनले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महसुस हुनासाथ जिम्मेवारीबाट पछि हट्ने स्पष्ट पारेका हुन् ।
मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुखी नेपालीस् समृद्ध नेपाल’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए ।
मन्त्री भट्टराईले केही दिनभित्र आफ्नो कार्ययोजना सञ्चार माध्यममार्फत् सार्वजनिक गर्ने जानकारी दिदै आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कारबाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिनभित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।
मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे
प्रतिक्रिया दिनुहोस्