नवनियुक्त पर्यटनमन्त्री भट्टराईद्वारा सपथ

काठमाडौं , साउन ११ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो ।

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउका थिए ।

प्रतिक्रिया दिनुहोस्